काठमाण्डौ  । नेपाली फिल्म उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको फिल्म ‘बलिदान’ को ट्रेलर सार्वजनिक भएको छ। सन्तोष सेनको निर्देशनमा बनेको यस फिल्मको ट्रेलरले केही सेकेन्डमै दर्शकको मनमा क्रोध, देशभक्ति र न्यायको ज्वाला प्रज्वलित गराएको छ।

निर्देशक सन्तोष सेन स्वयं आदिवासी पात्रका रूपमा देखिएका दृश्यले टिजरलाई थप रोचक बनाएको छ। चलचित्र ‘बलिदान’लाई बहुप्रतीक्षित नेपाली चलचित्रका रूपमा हेरिएको छ।

निर्देशक सेनले यसअघि बलिदानलाई चलचित्र मात्र नभई हरेक नेपालीको मनको विद्रोहको प्रतीक भएको बताएका छन। यसबीचमा, चलचित्रको शीर्ष गीत ‘यो ज्यान बलिदान’ ले चर्चा बटुलिसकेको छ। सुजन चापागाईंको स्वर र सङ्गीत, हर्क साउदको शब्दमा तयार गीतले जनमानसमा चर्चा पाइरहेको छ।

आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय छ।

निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी छन्। चलचित्र बडादसैँको फूलपातीको दिन (असोज १३ गते) प्रदर्शनमा आउने जनाइएको छ।