काठमाडौं । प्रसिद्ध भारतीय निर्देशक सञ्जयलीला भन्सालीको बहुप्रतीक्षित फिल्म ‘लभ एन्ड वार’को नेपाल छायांकन सम्पन्न भएको छ। गोरखा, चितवन र सिन्धुपाल्चोकमा तीन दिनसम्म छायांकन गरिएको फिल्मको टोली आइतबार भारत फर्किएको नेपाल प्रोडक्सन म्यानेजर दिलीप पन्तले जानकारी दिएका छन्।
पन्तका अनुसार फिल्मको छायांकन टोलीमा अभिनेता विक्की कौशलका एक डमी कलाकारसमेत सहभागी थिए। फिल्मको कथावस्तुअनुसार नेपालका विभिन्न स्थानमा हवाई तथा स्थल दृश्यहरू छायांकन गरिएको उनले बताए।
भारतको एक स्थानको दृश्यलाई हुबहु उतार्ने गरी नेपालमा छायांकन गरिएको पन्तको भनाइ छ। फिल्मको नेपाल छायांकन व्यवस्थापन ग्लोबल रिल्स मोसन पिक्चर्सले गरेको हो भने फूर्वा शेर्पा नेपालका लाइन प्रोड्युसर रहेका छन्।
निर्देशक भन्सालीको यस महत्त्वाकांक्षी परियोजनामा रणवीर कपुर, आलिया भट्ट र विक्की कौशल मुख्य भूमिकामा छन्। प्रेम, युद्ध, सम्बन्ध र भावनात्मक द्वन्द्वलाई केन्द्रमा राखिएको फिल्मको कथा दुई सैनिक अधिकारी र उनीहरूबीच उत्पन्न हुने प्रेमत्रिकोण वरिपरि घुम्ने बताइएको छ।
फिल्ममा रणवीर कपुर र विक्की कौशलले भारतीय वायुसेनाका अधिकारीको भूमिका निर्वाह गरेको बताइएको छ। फिल्मको प्रदर्शन मिति सन् २०२७ जनवरी २१ का लागि तय गरिएको छ।
नेपालका प्राकृतिक तथा भौगोलिक विविधतायुक्त स्थानहरू अन्तर्राष्ट्रिय फिल्म छायांकनका लागि प्रयोग हुनुले नेपाली चलचित्र तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।




















