काठमाण्डौ  ।  चलचित्र विकास बोर्डको नयाँ अध्यक्षमा युवा चलचित्रकर्मी मनिष पण्डित नियुक्त भएका छन्। चलचित्र क्षेत्रको विकास, सुधार र व्यावसायिक सुदृढीकरणका लागि विभिन्न चुनौतीबीच पण्डितले बोर्डको नेतृत्व सम्हाल्ने भएका हुन्।

नयाँ अध्यक्ष पण्डितका सामु संसद्मा अड्किएको चलचित्र विधेयकलाई निकास दिनु, नेपाली चलचित्रको गुणस्तर सुधार गर्नु तथा कलाकारको सामाजिक सुरक्षालाई सुनिश्चित गर्नु प्रमुख चुनौतीका रूपमा रहेका छन्।

चलचित्रकर्मीहरूले नयाँ नेतृत्वबाट चलचित्रसम्बन्धी ऐन संशोधन प्रक्रिया अघि बढाउने, चलचित्र बजार र निर्माणबीच देखिएको असन्तुलन सम्बोधन गर्ने तथा प्राविधिक दक्षता विकासमा ठोस पहल हुने अपेक्षा गरेका छन्।

नेपाली चलचित्र क्षेत्रलाई थप व्यावसायिक, प्रतिस्पर्धी र व्यवस्थित बनाउन नीतिगत सुधारसँगै उत्पादन, वितरण तथा बजार व्यवस्थापनमा प्रभावकारी काम गर्नुपर्ने आवश्यकता देखिएको छ।

अब नयाँ नेतृत्वले चलचित्र क्षेत्रका विद्यमान समस्या समाधान गर्दै नेपाली चलचित्र उद्योगको विकास र विस्तारमा कस्तो भूमिका खेल्छ भन्ने चासो बढेको छ।