मुम्बई(एजेन्सी) । महाकुम्भ २०२५ को समयमा प्रयागराजमा रुद्राक्षको माला बेचेकी मोनालिसा रातारात इन्टरनेट सेन्सेसन बनेकी छन् । उनको आँखा र प्राकृतिक सुन्दरताले सामाजिक सञ्जाल तताइसकेको छ । मोनालिसाको सुन्दरताकै कारण उनी अहिले घर फर्किएकी छन् । अब उनी चाँडै बलिउडमा डेब्यू गर्दैछिन् ।
मोनालिसाको पहिलो फिल्म ‘डायरी अफ मणिपुर’ हो । जसको निर्देशक सनोज मिश्रो गर्दैछन् । फिल्मको छायांकन फेब्रुअरी १२ बाट दिल्लीस्थित इण्डिया गेटबाट सुरु हुँदैछ । जहाँ मोनालिसाको उपस्थिति पनि हुनेछ ।
मोनालिसाले यो फिल्मका लागि २१ लाख रुपैंयाँ पारिश्रमिक बुझेकी छन् । जसका लागि उनले १ लाख रुपैंयाँ साइनिङ पारिश्रमिक पाएकी छन् । आफ्नो चरित्रलाई पर्दामा उत्कृष्ट ढंगले निभाउन उनले मुम्बईमा अभिनयको प्रशिक्षण पनि लिनेछिन् ।
मध्य प्रदेशको महेश्वरमा बस्ने मोनालिसा प्रयागराजको महाकुम्भमा रुद्राक्ष बेच्नका लागि आएकी थिइन् । जहाँ उनी १५ दिन बसेकी थिइन् । उनको सुन्दरता र सोझोपनकै कारण उनलाई हेर्नेको भीड बढ्दै गएपछि उनी घर फर्किइन् ।
उनलाई निर्देशक सनोजले गाउँमै पुगेर ‘डायरी अफ मणिपुर’का लागि सम्झौता गरेका हुन् । फिल्ममा उनी प्रमुख भूमिकामा हुनेछिन् ।


















